
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्मा विश्वासको मत दिएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कानेखुसी गरेका छन् ।
आफू बसिरहेको ठाउँबाट उठेर ओली नेपालको छेउमा गएका थिए । त्यसपछि दुई नेताबीच कानेखुसी चलेको हो ।
नयाँ गठबन्धनमा सहभागी हुने शर्तस्वरुप नेता नेपालले आफूलाई पनि प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेको चर्चा छ । यसलाई प्रचण्ड र ओलीले सहमति जनाए–जनाएनन् बाहिर आएको छैन ।
तर पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको सरकारमा सहभागितालाई मध्यनजर गर्दा प्रचण्ड र ओलीले उनलाई प्रधानमन्त्रीको आश्वासन दिएको हुनसक्ने विश्लेषण गरिएको छ ।
अर्कोतिर पूर्वप्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले भने मंगलवार नै प्रतिनिधिसभालाई सम्बोधन गर्दै १३–१३ महिनामा प्रधानमन्त्रीको भागबण्डा गर्नेबारे सहमति नभएको बताएका छन् ।