
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) र मंगोलियाका राजदूतलाई नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।
बुधवार यूएईका राजदूत अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत गानबोल्ड डम्बाजाभसँगको भेटवार्तामा उनले यस्तो आग्रह गरेका हुन् ।
उनीहरूबीच नेपाल, यूएई र मङ्गोलियाबीच द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
यस्तै, आगामी वैशाख २८ र २९ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा सहभागिताका लागि पनि अध्यक्ष ढकालले आग्रह गरेका थिए ।
यूएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा सम्पन्न भएको नेपाल दुबई बिजनेस समिटको सफलताको लागि धन्यवाद दिएका थिए ।
साथै उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको जानकारी गराएका थिए ।
भेटमा अब्दुल्ला अल शम्सीले नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौताको सम्भावनाका बारेमा आफ्नो भनाइ राखेका थिए ।
त्यसैगरी मङ्गोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानीका अवसरका विषयमा छलफल गरेका थिए ।
अध्यक्ष ढकालले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराए । उनले नेपालको बाह्य क्षेत्रको स्थिरताबारे पनि राजदूतलाई अवगत गराएका थिए ।