
सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रस्ताव पेश गर्न नदिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमा कार्यक्रमपछि सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए ।
त्यसपछि कांग्रेस सांसदहरू उठेर विरोध जनाए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राज्यका निकायले अनुसन्धान गरिरहेको व्यक्ति मन्त्री हुन नहुने सिद्धान्त यसअघि नै स्थापित भइसकेको भन्दै गृहमन्त्रीलाई प्रस्ताव पेश गर्न दिन नसकिने बताए ।
त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरूले सहकारी ठगीमा जोडिएका लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।
बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्ने कार्यसूची थियो ।