
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बुटवल–नारायणगढ सडकको समस्या छिट्टै समाधान हुने बताएका छन् । रोटरी डिस्ट्रिक ३२९२ नेपाल–भुटानको १६ औं डिष्ट्रिक कन्फरेन्सको शुक्रवार बुटवलमा उद्घाटन गर्दै मन्त्री महासेठले सबैभन्दा बढी यात्रुले सास्ती खेपेको सडक निर्माण तीव्रताका साथ अगाडि बढिरहेको जानकारी दिए ।
मन्त्री महासेठले सबै अफ्ठयारा समाधान भएले अब सडक निर्माणको काम तीब्रताका साथ अघि बढ्ने बताए ।
एक सय १४ किलोमिटरका बुटवल–नारायणगढ सडक सबैभन्दा बढी आलोचना भइरहेको सडकखण्ड हो । ‘काम गर्दा आवत–जावतमा समस्या पर्ने कुरालाई केही समयका लागि सहनुपर्ने बाध्यतालाई सबैले बुझ्नु हुनेछ,’ उनले प्रष्ट्याए, ‘अब सडक निर्माणको काम भने रोकिँदैन ।’
मन्त्री महासेठले मुलुककै अर्को महत्वपूर्ण परियोजना सिद्धबाबा सुरुङमार्गको कामसमेत तीव्र रुपमा अगाडि बढेको जानकारी दिँदै विसं २०८३ चैत्रभित्रै सम्पन्न हुने बताए । सिद्धबाबा सुरुङमार्ग काममा कुनै समस्या नरहेको बताउँदै उनले हरसम्भव छिटो काम सम्पन्न हुने विश्वास दिलाए । उनले बुटवलदेखि गोरुसिंगे–चन्द्रौटा सडकको निर्माणको काम पनि अब छिट्टै नै अगाडि बढ्ने बताए ।
त्यस्तै यातायातमन्त्री महासेठले निर्माण आयोजनाको गुणस्तरमा सम्झौता नहुने गरी अगाडि बढ्ने बताए । निर्माण सम्पन्न भएका पूर्वाधारहरूको सञ्चालन र व्यवस्थापन हुन नसक्दा धेरै आलोचना सुन्नु परेको भन्दै उनले निर्माण सम्पन्न भएका आयोजना सञ्चालनका लागि पनि आफ्नो तर्फबाट पहल हुने बताए ।
मन्त्री महासेठले बुटवल–बेलहिया र भैरहवा–लुम्बिनी सडकमा अलपत्र पारेका पुलहरूको निर्माण सम्पन्न गर्न पनि निर्देशन दिइसकेको बताए । बुटवलबाट पोखरासम्म डबल लेन डेडिकेटेड सडकको निर्माण कार्यलाई यथासम्भव छिटो स्रोत व्यवस्थापन गरेर अगाडि बढाउने उनले आश्वासन दिए ।