
मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले पनि आत्महत्या गरेका छन् । मोरङको बेलबारी-१ का ६० वर्षीय बमबहादुर लिम्बूले गएराति श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार बमबहादुरले ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेका हुन् । पहिला धारिलो हतियार (दाउ) प्रहार गरेर श्रीमतीको हत्या गरेर बम बहादुरले घाटी रेटेर आत्महत्या गरेको एसपी कार्कीले बताए ।
बमबहादुरलाई गम्भीर घाइते अवस्थामा प्रहरीले फेला पारेको थियो । उनलाई उद्धारगरी विराटनगरको नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको ८ वर्षका छोरा भने भागेर बाँचेका छन् । हत्याको कारण भने खुलिनसकेको उनले बताए ।
उनीहरू बेलबारी–१ भेडा टोलमा निर्मला राईको घरमा ४ वर्षदेखि डेरागरी बस्दै आएका थिए । बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको कार्कीको भनाइ छ ।