
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम न काजका स्टाटस लेखेर समय बर्बाद नगर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सामाजिक सञ्जालमा लेखिने स्टाटसले चेतना र सन्देश दिनुपर्ने उनको भनाइ थियो ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटी वृहत् कार्यकर्ता भेलालाई बुधवार सम्बोधन गर्दै ओलीले एमाले कार्यकर्ताको स्टाटस मान्छेले खोजी-खोजी पढ्ने खालका हुनुपर्ने बताएका हुन् ।
‘हामी काम न कामका स्टाटस लेख्छौं, सुइरो बनाएर अरूलाई घोच्ने स्टाटस लेख्छौं । हाम्रो स्टाटसले केही सन्देश देओस्, चेतना देओस् । एमाले कार्यकर्ताको स्टाटस मान्छेले खोजी खोजी हेरोस् । फोहोरो गाली गलौज नहोस्’, ओलीले भने, ‘पार्टीविरुद्धका झुटा आरोपमा कमेन्ट किन लख्दैनौं ? झुटो बेइमानी कुरा नगरौं भनेर किन भन्न सक्दैनौं । त्यो चाहिँ भन्दैनौं ।’
ओलीले देशका विभिन्न नामका अधिकारकर्मी बढी भएको भन्दै उत्पादनकर्मी बन्न कार्यकर्तालाई सुझाव दिए ।