
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादीसँग एकता गर्ने समितिलाई भंग गरेको छ ।
भट्टराईको अध्यक्षमा बसेको पार्टीको छैठौं पूर्ण बैठकले पाटी विधि, पद्धति र अनुशासन विपरीत माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले केही व्यक्ति लागेको भन्दै एकताको लागि बनाइएको समिति भंग गरेको हो ।
‘दूषित मनसायले केही व्यक्तिहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मत रूपमा अमान्य घोषित गर्दै पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएका व्यक्तिहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ’ बैठकको निर्णयमा भनिएको छ, ‘यस भन्दा अघि गठित पार्टी एकता र ध्रुवीकरण संयोजन समिति भंग गरिएको छ ।’
बैठकले प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पाटीको महाधिवेशन २०८१ माघमा गर्ने निर्णय पनि गरेको छ ।
पार्टी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरिएको, प्रदेश र स्थानीय समितिहरू अधिवेशन आयोजक समितिमा रुपान्तरण भएको र २०८१ असोज महिनामा पाटीको विधान अधिवेशन गरिने जनाएको छ ।