
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधार गर्न मन्त्रालय तयार रहेको बताएका छन् ।
नेपाल पर्यटन बोर्डद्वारा आज आयोजित कार्यक्रममा उनले मन्त्रालय र मातहत निकायका कामलाई नतिजामुखी बनाउन लागिपर्ने विश्वास व्यक्त गरे ।
पर्यटनमन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढङ्गले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गरे । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसंग सहकार्य गररैे अघि बढ्ने बताए ।
“केही नीतिगत कुरा रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ । रिक्त रहेका बोर्ड सदस्य नियुक्तिदेखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन् । अब यी सबै काम छिट्टै टुङ्गिन्छन्”, उनले भने ।पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लले बोर्डको विगत गौरवपूर्ण रहेको चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउन जरुरी रहेको बताए । उनले सबैले आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दा संस्थागत उद्देश्य तथा लक्ष्य हासिल गर्न सकिने बताए ।