
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोगप्रतिको जनविश्वासलाई टुट्न दिन नहुने बताएका छन् ।
प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै जनविश्वासलाई टुट्न दिन नहुने बताएका हुन् ।
आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानूनको अधीनमा रहेर आफ्ना गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउन आयोगलाई उनले सुझाव दिए ।
'लोक सेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजको मितिसम्म पनि कायमै राख्न सफल भएकोमा त्यसप्रति धन्यवाद व्यक्त गर्दै अबका दिनमा पनि आयोग अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्नुपर्छ', उनले भने, 'आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनुहुँदैन ।'
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निष्पक्षताको विश्वासिलो संस्था आयोग मात्र रहेको बताए । आयोगले आफ्ना काम कारबाही द्रुतगतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेशिने क्रम अत्यधिक भएका कारण रिक्त पदपूर्तिका लागि आयोगले छिटोछरितो परीक्षा सञ्चालन गर्नुपर्ने उनले बताए । छिटोछरितो परीक्षा सञ्चालन गर्दा विदेशिने जनशक्ति नेपालमा नै बस्ने वातावरण सिर्जना हुने उनको विश्वास छ ।
नेपाली जनताले राजनीतिक परिवर्तनका लागि पटक-पटक लड्नुपर्ने अवस्था सिर्जना हुँदा देशमा राजनीतिक स्थिरता आउन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे।
राजनीतिक दलहरूले मुलुकलाई कसरी राजनीतिक स्थिरतातर्फ लान सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो ।