
सोमवार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ । होलीको लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ४ हजार ८ सय ६५ प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।
भोलि (सोमवार) प्रदेशभरिमा ११७ ठाउँमा चेकिङ, मोबाइल गस्ती ९६, पैदल गस्ती १८७, क्यूआरटी ३७८, अनुगमन ३१, रिजर्भ ३२ रहने प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
होलीमा सुरक्षा व्यवस्था मजबुत बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा सीसी क्यामेराबाट पनि निगरानी गरिने छ ।
मोरङ प्रहरीले होली विशेष सुरक्षा योजना नै बनाएको छ ।
विराटनगरमा मात्र ७ सय बढी प्रहरी परिचालन गर्ने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनले मर्यादित रूपमा होली मनाउन आग्रह गरेका छन् ।
‘होलीमा मदिरा सेवन गरी सवारी चलाउने गरेको पाइन्छ । झै–झगडा, चोरी, पकेटमार र सवारी दुर्घटना हुँदा ज्यानै जान सक्ने अवस्थासमेत हुन्छ', उनले भने, ‘त्यस कारण विराटनगरमा तीन दर्जनभन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ । जसले सम्भावित घटनाहरूलाई न्यूनीकरण गर्दछ ।’
होलीमा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न विराटनगरमा सुरक्षाकर्मी खटिने उनले बताए । ट्राफिक कार्यालयबाट मात्रै दुई सय बढी हाराहारीमा सुरक्षाकर्मी खटिनेछन् ।
अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठूलो आवाज निकाल्ने, मोटरसाइकमा तीन जना चढ्ने, हेलमेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि विशेष निगरानी हुने प्रहरीले जनाएको छ ।
अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिने उनले बताए ।
अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्नेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिएको एसपी कार्कीले बताए ।