
कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राजनीतिक अस्थिरताका कारण कतिपय विधेयकहरू सदनबाट पास हुन नसकेको बताएका छन् । पर्वतको दक्षिणी क्षेत्रको गिरीपैयू गाउँपालिका स्थानीयसँग आइतबार भएको भेटघाटमा उनले देशमा स्थिर सरकारको आवश्यकता बताए ।
पैयू र विहादी गाउँपालिकाका विभिन्न ठाउँमा भएका भेटघाटमा मन्त्री गिरीले संघीय निजामती ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरू छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने उल्लेख गर्दै कानुन निर्माणमा सबै पक्षको सहयोग हुनुपर्ने धारणा राखे ।
कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्नेमा जोड दिंदै उनले कानुन अज्ञानता क्षम्य नहुने बताए । कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको समेत गिरीले बताए ।
कतिपय कानुन शंसोधन गर्न जरुरी रहेको उल्लेख गर्दै गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरू बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेश अनुसारका कानुनहरू अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या पनि समस्या परेको बताए ।