
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन कुमार आचार्यले इलाम २ मा हुने उपनिर्वाचनमा आफ्नो दलको उम्मेदवारको सन्दर्भमा सामाजिक सञ्जालमा चलेका हल्लाहरू निराधार रहेको बताएका छन् ।
सोमबार फेसबुकमार्फत उनले रास्वपाको उम्मेदवार छनौट लोकतान्त्रिक मुल्यमान्यता र पारदर्शिताको सिद्धान्तको आधारमा हुने उल्लेख गर्दै आचार्यले हल्लाहरूलाई विश्वास नगर्न सबैलाई आग्रह पनि गरेका छन् ।
“रास्वपा प्राइमरीमार्फत उम्मेदवार छनौट गर्ने नेपालकै पहिलो राजनीतिक दल भएको आम मतदातामा जानकारी मै छ,” उनले भनेका छन्, “रास्वपाको उम्मेदवार छनौटको सामान्य जानकारी पनि नराख्ने केही व्यक्तिहरूले अनावश्यक हल्ला फैलाउने मनसायले सामाजिक सञ्जालमा विभिन्न व्यक्ति इलामबाट उम्मेदवार हुने भन्दै सम्प्रेषण गरेका सामग्रीलाई विश्वास नगर्न इलामसहित देशैभरका शुभेच्छुकहरुलाई आग्रह गर्दछु ।”
आचार्यले आगामी बैशाख १५ गते हुने इलामको उपनिर्वाचनको लागि दलले प्राइमरी निर्वाचनको प्रकृया शुरु गरिसकेको र निर्वाचनमा भाग लिन आकांक्षा राख्नेहरू सो प्रकृयामा सामेल रहेका पनि बताएका छन् ।
उनका अनुसार रास्वपाले प्राइमरीमार्फत आउने म्यान्डेडको सम्मान गर्दछ । गत शुक्रवारदेखि सामाजिक सञ्जालमा रास्वपाले डा. बाबुराम भट्टराई लगायतका व्यक्तिहरुलाई उम्मेदवार बनाउने हल्ला चलेपछी रास्वपा सहमहामन्त्रीको यस्तो टिप्पणी आएको हो ।
सहमहामन्त्री आचार्यको स्टाटसले एमाले लगायत अन्य दलसँगको तालमेलको हल्लालाई समेत पुर्णत इन्कार गरेको छ ।