काठमाडौं, २९ पुस — बलिउडका नामी अभिनेता ओम पुरीको मृत्यु शंकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । ओमको पोस्टमार्टम गर्दा उनको शिरमा चोट लागेको पाइयो ।

यसपछि प्रहरीले उनको साथी खालिद किदवई, उनकी पत्नी नन्दिता र उनका ड्राइभरसँग पूछताछ गरे ।
खालिदले प्रहरीलाई ओम पुरीको मृत्यु हुनु एक दिनअघि भएका सबै घटना बताइदिए । उनका अनुसार ओम एकदमै चिन्तित थिए र छोरो ईशानसँग भेट्न चाहन्थे । उनी किदवईलाई लिएर त्रिशूल बिल्डिङ पुगे जहाँ ओम पुरीकी पत्नी नन्दिता र ईशान बस्छन् ।
त्यहाँ पुगेपछि पो थाहा भयो नन्दिता र ईशान कतै गएका रहेछन् । ओमले तत्कालै पत्नीलाई फोन गरेर छिट्टै फर्किन लगाए । उनलाई छोरो भेट्न मन लागेको बताउँदा नन्दिताले उनीसँग बेस्सरी झगडा गरिन् ।
त्यसपछि ओम पुरीले रक्सी बनाए र ४५ मिनेटसम्म नन्दिताको फ्ल्याटमा पर्खेर बसे । उनीहरू नफर्किएपछि ओमले बोतल र गिलास लिएर कारमै पिउन थाले । रक्सी सकिएपछि उनी त्यहाँबाट अन्तै गए ।
नन्दिताले आफू पंकज कपूरकी छोरी सना र पाहवाका छोरा मयंकको इन्गेजमेन्टमा भाग लिन गएको बताइन् । त्यतिखेरै ओम नन्दिताको घर पुगेका थिए । उनीहरूलाई तत्काल फर्किन गाह्रो भयो ।
त्यही क्रममा ओमले नन्दिताकी आमालाई भनेछन्, ‘ए बूढी, तिमी यहाँ किन सडेर बसेकी ? मसँग स्वर्ग हिँड !’
ओमले लगातार नन्दितालाई फोन लगाए र तत्काल ईशानलाई लिएर आउन भने । उनले धेरै ढिलो भइसकेकाले भोलि भेटौंला भनिन् ।
खासमा ओम छोरा ईशानलाई लिएर ट्युबलाइट फिल्मको शूटिङ स्थल जान खोज्दैथिए । त्यसपछि उनी छोरालाई लिएर खण्डाला घुम्न जाने योजनामा थिए ।
एजेन्सी