२५ जेठ २०८३, सोमबार

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन जोड दिनुस् : प्रधानमन्त्री

चैत १४, २०८०
काठमाडौं
राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन जोड दिनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी जुट्न उनले निर्देशन दिए ।

'नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुई थरि ‘स्कुल अफ थट’ छन् । एउटा दृष्टिकोण छ, ‘अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाउँ ।’ अर्को दृष्टिकोण छ, ‘चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ ।’ त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौं । देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट चिरौँ । म चाही केही नयाँ गरौं भन्नेमा दृढ छु', उनले भने ।

छलफलमा प्रधानमन्त्रीले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

'सङ्कटको बेला नै राज्य चाहिन्छ । राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो । त्यसैले बजेटलाई नयाँपन दिउँ । सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखून् । उनीहरूमा सकारात्मक आशा जागोस् । जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ', उनले भने ।

राजस्व बढाउन नयाँ कार्ययोजनासहित अगाडि बढ्न पनि प्रधानमन्त्रीले निर्देशन दिए ।

'राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन जोड दिनुस् । राजस्वको दायरा बढाउने र चुहावट रोक्ने काममा केन्द्रित हुनुस् । पुँजीगत खर्चको सामर्थ्य बढाउन विशेष रूपले अग्रसर हुनुस्', उनले भने, '​पुँजीगत खर्च नबढ्नुको प्रमुख कारण खर्च गर्न नसक्ने र अनावश्यक ठाउँमा बजेट फस्नु हो । यसपटक निर्मम भएर आयोजनाको प्राथमिकीकरण गर्नुस् । राम्रो गरिरहेका योजनामा बजेट थपेर अनावश्यक ठाउँको बजेट घटाइदिनुस् ।'

salt training

कमेन्ट गर्नुहोस्