०५ साउन २०८३, मंगलबार

प्रचण्डकाे अर्को चेतावनी– फेरि उथलपुथल गर्न बेर लगाउँदिन

चैत १५, २०८०
काठमाडौं
प्रचण्डकाे अर्को चेतावनी– फेरि उथलपुथल गर्न बेर लगाउँदिन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् । नयाँ सत्ता समीकरण बनाएको एक महिना पनि नपुग्दै गर्दा प्रचण्डले फेरि उथलपुथल गर्न सक्ने बताएका हुन् । यसअघि नेपाली कांग्रेस छोडेर नेकपा (एमाले)लाई समीकरणमा मिसाउँदा पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले उथलपुथल गर्न आफू माहिर भएको बताएका थिए ।

 राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई बिहीवार सम्बोधन गर्दै प्रचण्डले विकास निर्माणसहितका कामलाई तीव्रता दिन नसके पदमा बसिरहने मान्यतामा आफू नभएको बताएका हुन् । 

‘कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लगाउँदिन । त्यो मैले अरुलाई भनेको होइन मेरै लागि भनेको हुँ । मैले भन्ने गरेको छु,’ प्रचण्डले भने, ‘कामै गर्न नसक्ने स्थिति बन्यो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर मैले सार्वजनिक रुपमा जनतालाई पनि भनेको छु । अहिले पनि पदको सुरक्षाका लागि अर्को समीकरण बनाएको होइन ।’ 

काम गर्न नसके पदमा बस्नुपर्छ भन्ने मान्यता आफूमा नभएको उनको भनाइ छ । 

‘पद त मेरो सुरक्षित नै थियो । तर काम अझ तीव्र गतिमा गर्न सकियोस् । सुशासनका लागि अझ तीव्र गतिमा कायम गर्न सकियोस् । विकास निर्माणलाई अझ तीव्र गतिमा अगाडि बढाउन सकियोस् भन्ने मान्यता हो,’ उनले भने, ‘त्यो पनि हुन नसके पद ओगटिरहनुको औचित्य पुष्टि हुँदैन । यो कुरामा म सचेत छु । अरुलाई अप्ठ्यारो पार्न उथलपुथल होइन, काम गर्न नसके पदमा बस्नु हुँदैन भन्ने मान्यतामा म दृढ छु ।’

ढिलो हुँदाहुँदै पनि अगाडि बढ्ने सम्भावना देखेकाले आफू पदमा बसिरहेको प्रधानमन्त्री प्रचण्डले दोहोर्याए । 

२१ फागुनमा समीकरण फेरिएकै दिन उनले आफू नमरेसम्म उथलपुथल भइरहने बताएका थिए । 

‘म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ,’  प्रचण्डले भनेका थिए, ‘प्रतिक्रियावादीबाट घेरा हालेर मलाई सिध्याउने धेरैचोटी कोसिस भए । तर म साथीहरूलाई भन्न चाहन्छु– ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटोमा लाग्नुपर्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्