
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–७ रामकोट घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेंसी नगरपालिका–७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रवीण गिरी र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई भक्तपुरको भक्तपुर नगरपालिका–६ बस्ने ३० वर्षीय रमेश गिरी छन् ।
गाडी र मोटरसाइकल भन्सार छली तथा चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
उनका अनुसार भक्तपुरका विभिन्न स्थानमा गाडी र मोटरसाइकल भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई ड्राइभिङ सेन्टरमा प्रयोग गरेको पाइएकाले एक थान गाडी र दुई थान मोटरसाइकलसमेत बरामद गरिएको छ ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।