काठमाडौं, २६ असोज- प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने अघिल्लो दिन आगामी शनिबार नै संसद्को आयु स्वतः समाप्त हुने भएको छ। दलका नेता र संसद् सचिवालयबीच बुधबार भएको छलफलले समानुपातिक उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसद्को आयु कायम रहने सहमति गरेको हो। प्रतिनिधिसभा सदस्य मनोनयनको अघिल्लो दिन संसद्को आयु स्वतः समाप्त हुने संवैधानिक व्यवस्था रहे पनि प्रत्यक्षतर्फको उम्मेदवारी दर्तालाई मान्ने कि समानुपातिकको सूची मनोनयनलाई आधार मान्ने भन्ने अन्योल थियो। निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ कात्तिक ५ गते मनोनयनको दिन तोकेको छ।

सभामुख ओनसरी घर्तीले समानुपातिकको मनोनयनलाई आधार मानेर संसद् विघटन हुने भन्दै सरकारलाई अत्यावश्यक कानुन पारित गर्नुपर्ने भए त्यसअनुसारको तयारी गर्न जनाउ दिइसकेकी छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले समानुपातिकको सूची पनि प्रतिनिधिसभाको मनोनयन नै भएको भन्दै शुक्रबारसम्म मात्र संसद् बैठक सञ्चालन हुने बताए। शनिबार (२८ गते) म्याद समाप्त हुने भएपछि शुक्रबारसम्म मात्र बैठक सञ्चालन हुने भएको हो।