
इलाम २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।
माओवादीले धीरेन्द्र शर्मालाई उम्मेदवारमा उठाउने निर्णय गरे पनि एमालेलाई सघाउने आन्तरिक सहमति भएको माओवादीका एक नेताले जानकारी दिए ।
‘इलाममा माओवादीले धीरेन्द्र शर्मालाई उठाउने निर्णय गरेको छ । यसकै आधारमा उहाँलाई उम्मेदवार सिफारिस गरेर पार्टी केन्द्रीय कार्यालयले पनि पत्र पनि दिएको छ’, माओवादी स्रोतले लोकान्तरसँग भन्यो, ‘इलाममा उम्मेदवारीको लागि तयारी अवस्थामा बस्ने तर एमालेलाई नै समर्थन गर्न भन्ने छ । अन्य स्थानमा सहमति नभएर भाँडिए बेग्लै कुरा तर नेताहरूबीच एमालेकै उम्मेदवारलाई सघाउने तर उम्मेदवारी नदिने पार्टीको तयारी छ ।’ अन्तिम अवस्थामा उम्मेदवारी दिन पनि पर्न सक्ने भएर मात्रै उम्मेदवारलाई पत्र दिइएको माओवादीका नेता बताउँछन् ।
प्रधानमन्त्री निकट स्रोतले पनि औपचारिक निर्णय नगरे पनि इलाममा माओवादीले एमाले उम्मेदवारलाई समर्थन गर्ने जानकारी दियो ।
इलाममा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार घोषणा गरिसकेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवार तय गर्दैछ ।