
भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’ क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जीत निकाल्दै एक खेलअगावै फाइनलमा स्थान बनाएको हो ।
गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बुधवार भएको लिगको चौथो खेलमा गुजरातले टस जितेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा १८१ रन बनायो । १८२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७३ रन मात्र बनाउन सक्यो ।
पहिला ब्याटिङ गर्ने क्रममा नेपालको शुरूवात उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । पहिलो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए । अर्का ओपनर मोहम्मद आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् ।
कप्तान रोहितकुमार पौडेलले तीन, सन्दीप जोराले दुई, कुशल मल्लले एक, गुलशन झाले चार, विवेक यादवले सात तथा प्रतिश जीसीले अविजित चार रन बनाए ।
बलिङतर्फ गुजरातका लागि जयमित पटेलले तीन तथा आर्या देसाइ र ध्रुशान्त सोनीले दुई–दुई विकेट लिए ।
गुजरातका लागि १७३ रन बनाउने क्रममा उमङ्ग तन्डेलले ४७ रनको योगदान दिए । हर्ष देसाईले अविजित २९ रन बनाए । अभिषेक देसाईले २० तथा स्मित पटेलले १९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले दुई–दुई तथा विवेक यादवले एक विकेट लिए । नेपालले अर्को खेल शुक्रवार बरोडासँग खेल्नेछ ।