२७ असार २०८३, शनिबार

शैक्षिक सत्र शुरू नहुँदै कोशीका सबै पहाडी जिल्लामा पुग्यो पाठ्यपुस्तक

चैत २३, २०८०
विराटनगर
शैक्षिक सत्र शुरू नहुँदै कोशीका सबै पहाडी जिल्लामा पुग्यो पाठ्यपुस्तक

अघिल्ला शैक्षिक सत्रहरूमा समस्या खेप्दै आएका विद्यार्थीले यसपटक भने नयाँ शैक्षिक सत्र सुरु भएसँगै पाठ्यपुस्तक पाउने भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पाठ्यपुस्तक नपाउने समस्याबाट कोशी प्रदेश मुक्त हुने विराटनगरस्थित जनक शिक्षा सामग्री केन्द्र कोशी प्रादेशिक कार्यालयले जनाएको छ । 

जनक शिक्षा सामग्री केन्द्र कोशीका अनुसार यसपटक पहाडी जिल्लाहरूमा पुस्तक पुगिसकेको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंङ्गामा भने केन्द्रीय कार्यालयले नै पठाउने गरेको छ । विराटनगरबाट पठाउँदा ढुवानी भाडा बढी लाग्ने भएकोले काठमाडौंले नै पुस्तक पठाउने गरेको हो । 

तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, पाँचथर  ताप्लेजुङलगायत पहाडी जिल्लामा पाठ्यपुस्तक पुगिसकेको र तराईका जिल्लामा पनि पुस्तक पठाइसकिएको कार्यालयले जनाएको छ । 

चैत्र १३ गतेदेखि नै पुस्तक बिक्री वितरण गर्न थालेकाले वैशाख १ गतेबाटै विद्यार्थीहरूले सहजै पुस्तक प्राप्त गर्ने जनक शिक्षा कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख भुपराज थापाले बताए । ‘कोशीमा आवश्यक पर्ने पुस्तकमध्ये ४१ प्रतिशत पुस्तक हामीले पहाडमा मात्र पठाएका छौं, तराईका पनि केही जिल्लामा गइसकेको र बाँकी ठाउँमा केही दिनभित्रै पठाइसक्छौं,’ उनले भने । कोशी प्रदेशमा झापा, मोरङ र सुनसरी तारईका जिल्ला भएकोले ढुवानीमा कुनै समस्या नहुने र छिट्टै पुस्तक पुग्ने उनले बताए । 

व्यापारीहरूले पनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउने बताएका छन् । ‘पहिला सामग्रीको प्रादेशिक कार्यालयहरूमा फोन गर्दा पनि उठदैन थियो,’ धनकुटाबाट पुस्तक लिन आएका खेमराज पौडेलले भने ‘अहिले एक महिनाअगाडि नै पुस्तक लिन आउन भनेकाले सहजै रूपमा पठाउन सकिने भएको छ ।’ 

पहिलोपटक व्यवसायीलाई जनक शिक्षा सामग्रीले पूरै पुस्तक उपलब्ध गराएको उनले बताए । गत शैक्षिक सत्रबाट सहज भए पनि गत वर्ष दुई वटा पुस्तक भने विद्यार्थीले ढिलो मात्रै पाएका थिए । यसपटक भने सेट नै एकै पटक लिएर गएको उनले बताए । ‘यसअघि ३० हजारको पुस्तक किन्न ७ हजार खर्च गर्दासमेत पूरा सेट लान पाइँदैन थियो । अघिल्लो  वर्षदेखि भने समस्या कम हुँदै गएको छ । समयमै नेपाली तथा अंग्रेजी माध्यमका सबै सेट पाठ्यपुस्तक प्राप्त भएकाले चाँडै विद्यालयमा पुर्‍याउन सक्छौं उनले भने ।

जनक शिक्षा सामाग्री कोशी प्रदेशको कार्यालय विराटनगरमा भेटिएका सुनसरीको झुम्काका व्यापारी सोवित तिम्सिनाले तीन दिनमा विद्यार्थीको हातमा पुस्तक पुर्‍याइदिने बताएका छन् ।

जनक शिक्षा सामग्री कोशी प्रदेशका अनुसार शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १६ लाख पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म साढे ७ लाख पुस्तक भने बिक्री गरिसकेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्