२६ असार २०८३, शुक्रबार

राजनीतिक अस्थिरताको श्रृङ्खलाले देश र व्यवस्थालाई अप्ठ्यारो पार्नु हुँदैन : राष्ट्रपति पौडेल

चैत २३, २०८०
तनहुँ
राजनीतिक अस्थिरताको श्रृङ्खलाले देश र व्यवस्थालाई अप्ठ्यारो पार्नु हुँदैन : राष्ट्रपति पौडेल
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने स्पष्ट पारेका छन् ।​​​

जनज्योति क्याम्पस भीमाद तनहुँको १६औं वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्‌घाटन समारोहलाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘राजनीतिक अस्थिरताको श्रृङ्खलाले यो देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता हो । मैले प्रधानमन्त्रीलाई  पनि यही भनेको छु', तपाईँहरूको राजनीतिमा मेरो भन्नु केही छैन तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस् भन्ने मेरो चिन्ता हो, प्रधानमन्त्रीले तपाईँ र म रहेसम्म केही हुँदैन भन्नुभएको छ', उनले भने, 'तपाईँहरूले मलाई यो देश र व्यवस्था बचाउने जिम्मा दिनुभएको छ, यो संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन म रहेसम्म निष्ठापूर्वक लागिरहने तपाईँहरूसँग कबुल गर्दछु ।'

उनले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुई वटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्दै भने, 'एउटा जीपी कोइराला श्वास प्रश्वास केन्द्रलाई शिक्षण अस्पताल बनाउने र अर्को संसारमा कुनै पनि नेपालीले एक पटक नआई नहुने भानु साहित्य उद्यान, यसैले  यो तनहुँलाई विशिष्ट जिल्ला बनाउँछ ।'

उनले विकासको कुरा रोकेर कानूनको कुरा गर्न नहुनेतर्फ  न्यायक्षेत्रको ध्यानाकर्षण गराए ।

'विकासको काम रोकेर कानूनको कुरा नगरौं, न्याय पनि जनताको पक्षमा हुनुपर्छ, यो मेरो सुझाव र सल्लाह हो', उनले भने ।

राष्ट्रपति पौडेलले देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले त्यसको लागि एउटा राष्ट्रिय दृष्टिकोण र स्पष्ट, पारदर्शी, वस्तुनिष्ठ समयानुकूल शिक्षा नीति जरुरी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्