
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास गर्ने गरी काम गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका छन् ।
गोरखाका पत्रकारसँगको संक्षिप्त छलफलमा प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी जलसाययुक्त आयोजनासँग सम्बन्धित निकायलाई तीव्ररूपमा आयोजनाका कामलाई अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए ।
जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं पार्क निर्माणका लागि पनि आफूले बजेट व्यवस्था गर्ने बताए ।
'गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ', प्रधानमन्त्री प्रचण्डले भने, 'जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्ने गरी बजेट विनियोजन हुनेछ ।'
सरकारले सुशासन र सामाजिक न्यायमा विशेष ध्यान दिएको उल्लेख गर्दै उनले यसबीचमा सरकारले महत्त्वपूर्ण काम गरेको स्पष्ट पारे ।
'आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्', प्रधानमन्त्री प्रचण्डले भने, 'शरणार्थी काण्डदेखि वाइड बडी प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।'