
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन् ।
नेकपा एमाले स्याङ्जाको नवौं जिल्ला अधिवेशनको आज स्याङ्जाको पुतलीबजारमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको समीकरणलाई कमजोर हुन नदिने र थप मजबुत बनाउँदै लगिने उनले बताए ।
'यसअघि भएको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै', उनले भने, 'उक्त गठबन्धन खरानीको डल्लोजस्तो थियो, जुन पानी परे पनि फुट्थ्यो, सुके पनि फुट्थ्यो, अहिलेको गठबन्धन कमजोर नभई बलियो छ ।'
यो समीकरणलाई देखेर आन्तरिक तथा बाह्य शक्तिहरूको रूवाबासी शुरू भएको उनको भनाइ थियो ।
'नेकपा एमाले यस्तै सरकार बनाइरहने हेरफेर गरिरहने खेलमा लागिरहन्छ भन्ने पक्षमा होइन', उनले भने, 'देशलाई त्यही अवस्थामा छाड्ने हो भने देशमा राजनीतिक अस्थिरता, अराजकता हुने भएकाले निकासका लागि नयाँ समीकरण बनाएका हौं ।'
कम्युनिस्ट आन्दोलनलाई आन्तरिक तथा बाह्य शक्तिहरूले घेराबन्दीमा हाल्ने र प्रहार गर्ने कोशिश भए पनि केही सीप नचल्ने उनको भनाइ थियो ।
उनले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा पार्टीलाई अगाडि बढाउँदै ‘मिसन ८४’ लाई निर्णायक तहमा पुर्याउने गरी अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
जिल्लाको यस नवौं अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव एक/एक जना, उपसचिव दुई जना र एक सय सदस्य गरी एक सय पाँच जनाको जिल्ला कमिटी चयन गर्नेछ ।
अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कुल छ सय नौ जना प्रतिनिधि रहेका छन् ।