२५ जेठ २०८३, सोमबार

प्रहरी अस्पतालले ८ महिनामा दियो एक लाख ८० हजारलाई सेवा

चैत २४, २०८०
काठमाडौं
प्रहरी अस्पतालले ८ महिनामा दियो एक लाख ८० हजारलाई सेवा
नेपाल प्रहरी अस्पतालको निरीक्षण भ्रमणका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्वागत गर्दै स्वास्थ्य निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह ।

चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले एक लाख ८० हजार ६ सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । 

प्रहरी अस्पतालको सेवा प्राप्त गर्नेमा बहालवाला प्रहरी ६१ हजार ६ सय चार, प्रहरी परिवारका सदस्य ६२ हजार आठ सय ९३, अवकाश प्राप्त प्रहरी कर्मचारी २४ हजार दुई सय २५, अवकाश प्राप्त प्रहरी कर्मचारीका परिवार २१ हजार पाँच सय ९८ तथा सर्वसाधारण १० हजार तीन सय ३८ जना रहेका सो अस्पतालका स्वास्थ्य निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले जानकारी दिइन् । विसं २०४० चैत २७ गते सेवा आरम्भ गरेको प्रहरी अस्पतालले समयानुकूल सेवा विस्तार गर्दै आएको उनले बताइन् । 

‘अस्पतालको विकास, विस्तार र गुणस्तर वृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिबाट सेवा प्रदान गर्दै आएको तथा अस्पताल चार दशकदेखि स्वास्थ्य सेवामा निरन्तर प्रतिवद्ध रहँदै आएको छ,’ निर्देशक डा सिंहले भनिन् ।  

बहालवाला तथा पूर्वप्रहरी कर्मचारी र तिनका परिवारको स्वास्थ्य उपचारको प्रमुख लक्ष्यका साथ स्थापित उक्त अस्पतालले २०७४ कात्तिक २६ गतेदेखि औपचारिक रुपमा सर्वसाधारणलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गर्दैआएको छ । सो अस्पतालबाट हाल आकस्मिक, बहिरङग, अन्तरङ्ग, फिजियोथेरापी, फार्मेसी, प्याथोलोजी, रेडियोलोजी, सर्जरी लगायतका सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ ।  
    
अस्पतालले आफूलाई समयानुकूल विकसित र परिमार्जित गराउँदै आएको र हाल नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज बाँके, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा, मधेस प्रदेश प्रहरी अस्पताल रुपनी, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायल, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी र बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडाबाट समेत सेवा प्रदान गर्दै आएको छ । 

‘राष्ट्रिय सुरक्षाको मुख्य जिम्मेवारी बहन गर्दै आएको नेपाल प्रहरीले स्वास्थ्य सेवामा समेत महत्वपूर्ण योगदान पुर्याएको छ । सेवाको सहज पहुँच र गुणस्तरीय सेवाबाट प्रहरी कर्मचारीको मनोबल उच्च भइ कार्यसम्पादनमा प्रभावकारिता बढेको छ । अस्पताललाई स्वास्थ्य उपचारको आस्थाको केन्द्र बनाउन प्रहरी अस्पताल प्रयासरत छ,’ निर्देशक डा सिंहले भने । अस्पतालका सबै युनिटमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी समेत गरी जम्मा एक हजार सात प्रहरी कर्मचारी हाल कार्यरत छन् ।  

मानव स्वास्थ्यजस्तो संवेदनशील र अपरिहार्य सेवा प्रदान गर्न प्रहरीका स्वास्थ्य कर्मचारीहरुले अथक मेहनत र प्रयास जारी राखेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल बताए । उनले भने, ‘अस्पतालको सेवालाई थप गुणस्तरीय, विश्वसनीय र उत्तरदायी बनाउन एवम् अस्पताललाई सुदृढ, सक्षम र अब्बल संस्था बनाउन आवश्यक नीति नियमको तर्जुमा गर्दै अगाडि बढ्न विशेष पहल भइरहेको छ ।’ 

विकट स्थानमा समेत स्वास्थ्य सेवा पहुँच पुर्याउन समय–समयमा विशेषज्ञ चिकित्सकसहितको टोली खटाएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको निर्देशक डा सिंहले बताए ।

salt training

कमेन्ट गर्नुहोस्