१२ साउन २०८३, मंगलबार
इलाम र बझाङमा उपनिर्वाचन

उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

चैत २४, २०८०
काठमाडौं
उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज (शनिवार) उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

इलाम–२ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारीमाथि चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

चैत्र २६ गते ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताका समय तोकिएको छ ।

२७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।

नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष सुवाङ नेम्वाङको निधनपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । 

इलाम–२ मा नेकपा (माओवादी केन्द्र)ले एमालेलाई सघाउने निर्णय गरेको छ । इलाम–२ मा नेपाली कांग्रेसले डम्बरबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । 

यस्तै बझाङ प्रदेशसभा–१ मा नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको निधनपछि उपनिर्वाचन हुन लागेको हो । त्यहाँ कांग्रेसले उनकै छोरा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ । 

कमेन्ट गर्नुहोस्