०५ साउन २०८३, मंगलबार
८ दल र तीन स्वतन्त्र भिड्ने तयारी

इलाम-२ मा क-कसले दिँदैछन् उम्मेदवारी ?

चैत २४, २०८०
काठमाडौं
इलाम-२ मा क-कसले दिँदैछन् उम्मेदवारी ?

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि आज बिहान १० बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न कार्यक्रम छ । अहिलेसम्म ८ दल र तीन जनाको स्वतन्त्र उम्मेदवारी पर्ने देखिएको छ । 

उपनिर्वाचनका लागि एमालेले सुवास पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ । पेशाले वकिल रहेका ३२ वर्षीया सुहाङलाई सत्तारूढ दल नेकपा माओवादी केन्द्रको समर्थन छ । नेकपा एकीकृत समाजवादीले भने उम्मेदवारी दिने तयारी गरेको छ । एकपा एसबाट जितबहादुर राईले उम्मेदवारी दिने तयारी गरेका छन् । 

नेपाली कांग्रेसले पनि युवा नेता एवं इलाम जिल्ला सभापति डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । ​नेविसंघ केन्द्रीयका पूर्वउपाध्यक्ष, जिल्ला अध्यक्ष र पार्टी जिल्ला कोषाध्यक्ष भएका खड्का अघिल्लोपटक नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए । 

निर्माण व्यवसायीसमेत रहेका कांग्रेस संस्थापननिकट ४८ वर्षीय खड्काले पनि उम्मेदवारी दर्ता गर्दैछन् । गत निर्वाचनमा कांग्रेसका खड्कालाई माओवादी केन्द्रले पनि समर्थन गरेको थियो । 

गत निर्वाचनमा इलाममा नेम्वाङले ३० हजार २० र खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ एमालेले २६,५६२ र कांग्रेसले २२,३३३ मत ल्याएका थिए । रास्वपाले ४६८६ मत ल्याएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्दैछन् । यसअघि माओवादीनिकट लिम्बूले उपनिर्वाचनमा इलामबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । तर, रास्वपाले उनैलाई उम्मेदवार बनाएको हो । २०७९ को चुनावमा रास्वपाका प्रकाश सापकोटाले इलाम २ मा १३८० मत प्राप्त गरेका थिए । लिम्बू पूर्वपत्रकार पनि हुन् । 

डगेन्द्र थेगिमले पहिचानवादीहरूको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिँदै छन् । जनमत पार्टीले पनि पहिचानवादीहरूको उम्मेदवारलाई सहयोग गर्दैछ । थेगिम लामो समय एमालेमा लागेर अहिले पहिचानवादीको पक्षमा उत्रिएका नेता हुन् । जसपा, नेपाल समाजवादी पार्टी र अन्य केही दल र संघ संस्थाले सहयोग गरेका छन् । 

स्वतन्त्रबाट प्रदीप लिम्बू र डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । राप्रपाबाट लक्ष्मी गुरुङ र राप्रपा नेपालबाट गणेश चौहान चुनावी मैदानमा उत्रिंदै छन् ।

इलामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले साढे १० बजेदेखि साढे तीन बजेसम्म दलहरूलाई समय तोकेरै उम्मेदवारी दर्ताको सूची प्रकाशित गरेको छ । आयोगको सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीलाई १२ बजे, एमालेलाई साढे १ बजे, नेपाली कांग्रेसलाई साढे २ बजेको समय तोकिएको छ । 

साढे १० बजे स्वतन्त्रका प्रदीप लिम्बू, ११ बजे स्वतन्त्रकै  गौतम र साढे ११ बजे नेमकिपाको लागि मनोनयन गर्ने समय छुट्याइएको छ । 

साढे १२ बजे मंगोल नेसनल अर्गनाइजेसन, १ बजे जसपा, ३ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी र साढे ३ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको लागि उम्मेदवारी मनोनयनको समय छुट्याइएको छ ।

२७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । आगामी वैशाख १५ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्