
सिरहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा कुल एक हजार दुई सय ३४ किसानले प्रयोग गरेका कृषि महसुल बापतको रु १४ लाख आठ हजार नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो ।
आज एक समारोहबीच नगरप्रमुख महेशप्रसाद चौधरीले विद्युत् प्राधिकरण लाहान वितरण केन्द्रका लेखा प्रमुख जितेन्द्र झालाई चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरिएको बताए ।
'यहाँका किसानले विद्युत् ‘हुकिङ’ नगरून्, कृषिमा आकर्षित हुन् भन्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरेका हौँ । यसबाट किसानलाई प्रत्यक्ष लाभ पुगेको अनुभूति गरेका छौं । आगामी दिनमा पनि यस कार्यले निरन्तरता पाउने छ', उनले भने ।
पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगरप्रमुख चौधरीले जानकारी दिए ।
उनले आव २०८०/८१ मा सात सय कृषक परिवार थप हुने भन्दै आगामी दिनमा नगरभित्रका बाँकी किसानलाई पनि यस योजनामा समेट्दै जाने बताए।
लामो समय खडेरी पर्दा किसानले भूमिगत सिँचाइको सहयोगमा खेतिपाती गर्ने गरेका छन् ।
यस्तो बेलामा नगरले विद्युत् महसुल तिरेर किसानलाई राहत दिएको उनीहरूको भनाइ छ ।