![काठमाडौंमा 'रामायण'की 'सीता': रामको प्रशंसा गर्दै भनिन्- विपन्नलाई खुलेर सहयोग गरौं [भिडियोसहित ]](https://lktcdn2.prixacdn.net/media/dipika2_pgg97H1Xvl.jpg)
चर्चित ‘रामायण’ सिरियलमा 'सीता माता'को भूमिका निर्वाह गरेकी अभिनेत्री दीपिका चिखलिया नेपाल आएकी छन् । सामाजिक संस्था जनजाति कल्याण आश्रमको नेपालको १४औं वार्षिकोत्सवमा सहभागी हुन उनी नेपाल आएकी हुन् । शनिबार आर्मी अफिसर्स क्लबमा आश्रमले आयोजना गरेको कार्यक्रममा उनी सहभागी भइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३० वर्षपछि फेरि पावन भूमि नेपालमा पाइला टेक्न पाउँदा निकै खुसी लागेको बताइन् । कार्यक्रममा उनले भगवान रामले गरेको त्यागको प्रशंसा गर्दै विपन्न वर्गका बालबालिकालाई खुलेर सहयोग गर्न आह्वान गरिन् । 'आर्थिक रूपले कमजोर बालबालिकालाई सहयोगको आवश्यकता छ । कोहीको बुवाआमा हुनुहुन्न, टुहुरा छन् , कोही गरिब छन् । हामी सबै मिलेर उनीहरूलाई सहयोग गर्नुपर्छ,' हिन्दीमा सम्बोधन गरेकी उनले भनिन् । ३० वर्षअघि पनि उनी नेपाल आएकी थिइन् ।

विगत २१ वर्षदेखि सञ्चालित आश्रमले विपन्न, सामाजिक सुविधाबाट वञ्चित बालबालिकालाई शिक्षा र स्वास्थ्य प्रदान गर्दै आएको छ । आश्रमले देशका विभिन्न ११ स्थानमा छात्रावास सञ्चालन गरिरहेको छ ।

छात्रावासले ३०० विद्यार्थीलाई निःशुल्क शिक्षा, आवास र भोजनको व्यवस्थासमेत गरिरहेको आश्रमले जनाएको छ । आश्रमले छात्रावासबाहेक झापा, मोरङ तथा चितवनका ग्रामीण भेगमा ८५ वटा जनजाति शिक्षा संस्कार केन्द्र सञ्चालन गरिरहेको छ । आश्रमले जनजाति शिक्षा संस्कारअन्तर्गत दैनिक २००० भन्दा बढी बालबालिकालाई निःशुल्क पढाउँदै आएको छ ।


भिडियो