३० असार २०८३, मंगलबार

नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति आवश्यक छ : प्रचण्ड

चैत २४, २०८०
काठमाडौं
नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति आवश्यक छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताएका छन् । 

विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक पुनर्संरचनामा हामी सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्तिको आभास भएको बताए ।

'मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो', प्रधानमन्त्री प्रचण्डले भने, 'मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसुस गरेको छु, म यो भूमिबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु ।'

नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले यस्तो रुपान्तरणका लागि कुनै पुरातनवादी धार्मिक राज्यको रूपमा नभएर दिगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी वैज्ञानिक आध्यात्मिक राज्यको रूपमा हुनुपर्ने आफ्नो विश्वास रहेको बताए ।

'प्रत्येक व्यक्तिभित्र रहेका प्रतिभा, क्षमता र सम्भावनालाई कुनै पनि धर्म, सम्प्रदाय, जाति र वर्गको घेराभन्दा माथि उठेर आध्यात्मिक रुपान्तरणबाट मात्र यो सम्भव हुन्छ', प्रधानमन्त्री प्रचण्डले भने, 'अबको दशक प्रवेशसँगै नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्मको प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्रलाई अवधारणगत र संरचनागत सुधार गरी नेपाललाई विश्व अध्यात्मको राजधानी, आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।'

उनले देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदाय माझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिनका लागि सबैको सामूहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्