
सहकारीको रकम हिनामिनाको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि नेपाली कांग्रेसले संसदीय छानबिनको अडान कायम राखेपछि सहमति खोज्न बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको छ । मंगलवार बस्ने प्रतिनिधि सभाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसहितको बैठक राखेका थिए ।
कांग्रेसले संसदीय समिति गठनका लागि आजसम्मको अल्टिमेटम दिँदै अन्यथा संसद् अवरोध गर्ने चेतावनी दिएको थियो । कांग्रेस संसदीय दलको बैठकबाट गृहमन्त्रीमाथि संसदीय छानबिन गर्नुपर्ने निर्णय गरेर कांग्रेस नेताहरू बालुवाटार गएका थिए ।
बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्ण सिटौला सहभागी थिए । यस्तै सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछाने पनि बैठकमा उपस्थित थिए ।
बैठकमा कांग्रेसले संसदीय छानबिन समिति आफूहरूको बटमलाइन भएको बताएको थियो । सहमतिको प्रयास स्वरूप सभामुख देवराज घिमिरेले सोमवार प्रमुख दलसँग छलफल गरेका थिए ।
बालुवाटार बैठकमा सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक मंगलवार ११ बजेका लागि बोलाइएको थियो । कांग्रेसँग सहमति नजुटेपछि बैठक अन्योलमा परेको छ ।