
याङ्गुन– आर्थिक वर्ष २०२३–२४ मार्चको अन्त्यसम्म भएका प्रकोपले म्यान्मारमा २५ हजार चार सय ६० घर क्षतिग्रस्त हुँदा ७६ हजार ६०१ घरपरिवारलाई असर गरेको सरकारी अधिकारीले मङ्गलवार बताएका छन् ।
गत आर्थिक वर्षमा म्यान्मारमा आगलागीका चार सय ५२, पानीसँग सम्बन्धित १४४, हावाका ६६१ तथा अन्य ७५९ गरी दुई हजार १६ वटा प्रकोप दर्ता भएको सामाजिक कल्याण, राहत तथा पुनःस्थापना मन्त्रालयको विपद् व्यवस्थापन विभागका निर्देशक डाअ ले स्वे सिन ऊले सिन्ह्वालाई बताए ।
अधिकारीहरूका अनुसार म्यान्मारमा सबैभन्दा सामान्य प्रकोप हावाको थियो । विभिन्न प्रकोपबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा अय्यारवाडी क्षेत्र, मगवे क्षेत्र र शान राज्य रहेका थिए ।
अधिकारीका अनुसार प्रकोपहरूको प्रतिक्रियामा विपद् व्यवस्थापन विभागले प्रभावित मानिसहरूलाई १३ लाख ८० हजार अमेरिकी डलरभन्दा बढी राहत सहायता प्रदान गरेको थियो ।