
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ ।
सोमबार रातिदेखि टेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् ।
सोमवार राति परेको चट्याङका कारण लची डाँडामा राखिएको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए ।
उनका अनुसार चट्याङ परेपछि जेनेरेटरको चार्ज डाउन भएसँगै टावरमा समस्या देखिएको हो ।
प्रमुख राईले उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएकाले बेलाबेला टावरमा समस्या आउने गरेको बताए । अवरुद्ध सेवा सञ्चालन गर्न अझै केही दिन लाग्ने भन्दै धनकुटाबाट प्राविधिक टोली माग गरिएको उनले जानकारी दिए ।
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–२ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।
उहाँका अनुसार विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा वीटीएस टावर अझै पनि सोलार उर्जाको भरमा सञ्चालन हुने गरेको छ ।
विद्युत् विस्तार नहुँदा मोबाइल प्रयोग गर्ने स्थानीयले मौसमको भरमा सेवा पाउने गरेका छन् ।