
डढेलो, पूर्वाधार निर्माण, सवारीसाधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला चितवनको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदूषणका कारण आँखा पोल्ने लगायतका समस्या प्रत्यक्ष देखिन थालेका छन् ।
भरतपुर अस्पतालका फिजिसियन डा प्रतीक न्यौपानेले डढेलोका कारण वायुमण्डलमा परेको असरले श्वासप्रस्वासमा समस्या हुने गरेको बताए । उनले भने, “दमका बिरामीलाई अस्पतालमा राखेर भर्ना गर्नुपर्ने, अक्सिजनको मात्रा कम हुनेलगायत समस्या देखिन थालेको छ ।” वायुमण्डलमा हुने ‘एयर क्वालिटी इन्डेक्स’ को मात्रा बढ्दा मानव स्वास्थ्य नराम्रोसँग प्रभावित भइरहेको उनको भनाइ छ ।
वायु प्रदूषणका कारण बालबालिकामा दमको समस्या देखापर्न सक्ने डा प्रतीक न्यौपानेले बताए । उनले भने, “बालबालिकामा झिज्झिन्ने, रुघाखोकी लाग्ने समस्या हुन सक्छ ।” वायुमण्डलमा भएको प्रदूषणका कारण मुख तथा नाक सुक्खा हुने हुँदा नियमित पानीको सेवन गर्ने, झोलिलो पदार्थ सेवन गर्ने, माक्स लगाएर मात्रै घरबाहिर निस्कनेलगायत उपाय अपनाउन सकिने उनको सुझाव छ ।
त्यस्तै अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कने, थकान लाग्ने काम नगर्नेलगायत उपाय अपनाउँदा वायुमण्डलमा भएको प्रदूषणका कारण हुने समस्याबाट बाँच्न सकिने डा न्यौपानेको भनाइ छ ।