०१ साउन २०८३, शुक्रबार
संकट टार्दै प्रचण्ड

सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एसले पाउने, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

बैशाख ४, २०८१
काठमाडौं
सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एसले पाउने, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता
मुख्यमन्त्रीका दाबेदार दीर्घ सोडारी ।

पहिलो कार्यकालको मुख्यमन्त्री पाउने सहमति भएपछि नेकपा (एकीकृत समाजवादी)ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको रेशम चौधरी पक्षका उम्मेदवार लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन भन्दै नेकपा एसले प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर बुझाएको थियो ।

नेकपा एसलाई मुख्यमन्त्री दिने समझदारी भएपछि समर्थन फिर्ता लिइएको नेकपा एसका एक सांसदले लोकान्तरलाई जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका नेता झलनाथ खनालबीच मंगलवार बिहान भएको छलफलमा सुदूरपश्चिमको मुख्यमन्त्री उसलाई दिनेबारे सहमति भएको थियो । 

केन्द्रमा सहमति भएलगत्तै नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता गरेका हुन् । नेकपा एसबाट सोडारी नै मुख्यमन्त्री बन्ने सम्भावना छ । यसअघि नयाँ सत्ता गठबन्धनबाट नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति भएको थियो । 

नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । नेकपा एस बिच्किएर कांग्रेस समर्थित उम्मेदवारलाई मुख्यमन्त्री बनाउन लागेपछि प्रचण्डले सहमतिका लागि अग्रसरता लिएका थिए । 

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन अप्ठ्यारोमा पर्न लागेको भन्दै पहिलो कार्यकालको मुख्यमन्त्री नेकपा एसलाई दिन नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई सहमत गराएका छन् । ‘प्रधानमन्त्रीज्यूले गठबन्धन अफ्ठेरोमा पर्ने भयो अर्को कार्यकालको मुख्यमन्त्री लिन आग्रह गर्नुभएपछि हामी पछि हट्ने सहमति भयो,’ नाउपाका एक नेताले भने । 

नयाँ सहमतिअनुसार एमाले, माओवादी र नाउपाको समर्थनमा नेकपा एसका नेता सोडारीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । पूर्वसहमतिविपरीत मुख्यमन्त्री नदिइएको भन्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्