
इलाम– २ र बझाङ प्रदेशसभा १ मा हुन गइरहेको उपनिर्वाचनमा निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनका लागि विभिन्न तीन निर्णय गरेको छ ।
मंगलवार विज्ञप्ति जारी गर्दै आयोगले आचारसंहिता विपरीतको कुनै कार्य भए–गरेमा तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई अख्तियारी दिएको हो ।
सामाजिक सञ्जालबाट आचारसंहिता उल्लङ्घन हुनेगरी कसैलाई होच्याएर लेखेका आवश्यक कारबाहीका लागि आयोगसमक्ष सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन इकाइ गठन गरी जिम्मेवारी दिने आयोगले निर्णय गरेको १ नम्बर बुँदामा उल्लेख छ ।
यस्तै आमसञ्चार माध्यमबाट निर्वाचनलाई नकारात्मक प्रभाव पर्ने समाचारलाई निरुत्साहित गर्ने तथा गल्ती गरेको भए आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने २ नम्बर बुँदामा जनाइएको छ ।
सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा निर्वाचन आचारसंहिता उल्लङ्घनकर्तालाई तत्काल आवश्यक कारबाही गर्न सम्वन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने,’ ३ नम्बर बुँदामा भनिएको छ ।
इलाम र बझाङमा यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
हेरौं विज्ञप्तिः
प्रेसविज्ञप्ति
निर्वाचन आचारसंहिता कार्यान्वयन सम्वन्धमा
इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, को प्रतिनिधि सभा सदस्यको रिक्त पदमा र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको रिक्त पदमा संवत् २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता 2080।12।28 गते देखि निर्वाचन सम्पन्न नभएसम्म लागूeई सकेको छ ।
उक्त निर्वाचन आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्चाउने, दुषप्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टिका टिप्पणी गर्न गराउने नहुने ब्यवस्था रहेको छ । त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रति कमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्र हत्या गर्न, ब्यक्तिगत लान्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउन पूर्ण रुपमा निषेध गरिएको छ ।आचारसंहिताको उक्त ब्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरी आचारसंहिता विपरीतको कुनै कार्य भए गरेमा तत्काल कारवाही गर्न आयोगले देहाय बमोजिम निर्णय गरेको हुँदा सम्वन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।
सह सचिव एवम् प्रवक्ता