
नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशन सारेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधवार बसेको ८०औं सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने तय भएको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्मका लागि सारिएको हो । बैठकले आन्तरिक तयारी र व्यवस्थापनका कारण महाधिवेशन सार्नुपर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले बताए ।
महाधिवेशन संघीय राजधानी काठमाडौंमा नै हुनेछ ।
संगठनको तलबाट माग भएबमोजिम र जिल्ला संगठनहरूबाट पनि सोही माग भएको र केन्द्रले पनि उपयुक्त ठहर गरेकाले महाधिवेशन सार्नुपरेको उनले स्पष्ट पारे ।
यस्तै एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।
बुधवार नै बसेको समाजवादीको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकले सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको खतिवडाले जानकारी दिए ।