
पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तापक्षका तीन नेताबीच छलफल भएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेबीच छलफल भएको हो ।
शुरूमा प्रचण्ड र ओलीबीच छलफल चलिरहेका बेला बीचैमा लामिछाने पनि मिसिएका थिए । अहिले लामिछाने गृह मन्त्रालय फर्किसकेका छन् ।
बैठकमा तीन नेताबीच गठबन्धन टिकाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
साथै प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धनमै आबद्ध दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको भेटका बारेमा पनि कुरा उठेको बताइएको छ ।
देउवा र नेपालको भेट भएर गठबन्धनमा संशय पैदा भएपछि सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिन एमाले राजी भएको थियो ।
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई लिएर सत्ता समीकरणमा खटपट शुरू भएको आकलन छ । तर, लामिछानेले भने सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।