
इलाम । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदीप पौडेलले निर्वाचनका मुखमा गठबन्धन गरेर आउने दलहरुलाई पराजित गर्न आव्हान गरेका छन् ।
आइतबार इलाम २ को उपनिर्वाचनका लागि घरदैलो अभियानमा सहभागी भएका नेता पौडेलले ०४८ यता नेकपा एमालेले एक्लै चुनाव लड्न नसकेको उल्लेख गरे । उनले किरात सभ्यता भनेको कुनै समुदायमा केन्द्रित नभइ नेपालको सभ्यता भएकाले सबैको अस्तित्व स्वीकार्न सक्नुपर्ने बताए ।
उनले भने,‘संस्कृति र सभ्यता सबै व्यक्तिको मौलिकता हो । हरेक व्यक्तिले आफ्नो मौलिकता सुरक्षित राख्न पाउनुपर्छ । किरात सभ्यता भनेको नेपालको सभ्यता र संस्कृति भएकाले यसका लागि कांग्रेस गम्भीर छ । सबैको अस्तित्व स्वीकारेर हिँड्न कांग्रेस सधैँ तयार छ ।’
२०७९ को निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर गल्ती गरेको उल्लेख गर्दै जनताले स्पष्ट मतदान गरेको बताए । वैशाख १५ को निर्वाचनमा डम्बर खड्का एक्लै मैदानमा रहेकाले स्पष्ट विचार भएको कांग्रेस पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे । सबैको पहिचान स्थापित गर्न ठूलो दल कांग्रेसले इलामबाट जित्नुपर्ने उनको भनाइ छ ।