
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष भएको छ । तत्कालीन समयमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा स्थापना भएको थियो ।
२००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन भारतको कोलकातामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको हो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव थिए ।
नेकपाका संस्थापकहरूमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए । स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन् ।
मुलुकको एक प्रमुख कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान दिने विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरिने भएकाले समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आइतबार सम्पन्न एमालेको परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । मुलुकबाट निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापना गर्न अग्रजको सङ्घर्ष, निष्ठा र त्यागलाई स्मरण तथा सम्मान गर्न एमालेले उक्त सम्मान प्रदान गर्न लागेको प्रचारप्रसार विभाग प्रमुख गौतमले बताए ।