
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कम्युनिस्ट पार्टी विभाजनमा चिन्ता प्रकट गर्दा नेकपा (एमाले)का कार्यकर्ताबाट ताली पाएकी छिन् ।
एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर मनाएको हीरक महोत्वसवका अवसरमा सोमवार ललितपुरको गोदावरीमा सम्बोधन गर्दै उनले फुट र विभाजन राजनीतिकभन्दा पदीय आकांक्षाले भएको संकेत गर्दा कार्यकर्ताको ताली पाएकी हुन् ।
‘कम्युनिस्ट पार्टीको फुट र विभाजन राजनीतिक कारणले भएको कि पदीय आकांक्षा, भड्काव हाबी भएको हो ? यसलाई हेरेर सही निष्कर्ष निकाल्न सकिएन भने झन् गाह्रो हुन्छ,’ भण्डारीले भनिन् ।
उनले लोकतन्त्र सुदृढ गर्न वामपन्थी र गैरवापन्थीको अंगीकार गरेको सिद्धान्तमा विचलन आएको छ कि छैन भन्नेमा पनि समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
नेपालमा राजनीतिक अधिकार प्राप्तिको चरण सकिएको भन्दै उनले आर्थिक समृद्धिको यात्रामा मुलुकलाई अगाडि बढाउनुपर्ने बताइन् ।
‘निरकुंशताकाविरुद्ध जनताको आन्दोलनले गणतन्त्र स्थापना भएको छ । अब राजनीतिक अधिकार प्राप्तिका लागि आन्दोलन गर्ने चरण पार भइसकेको छ । अब जनताको जीवनस्तर उठाउने, समाजवादउन्मुख अर्थतन्त्रको विकासमा लाग्नुपर्छ,’ उनले भनिन्, ‘यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोत, सम्पदाको प्रयोग, उत्पादनमा वृद्धि गरेर अगाडि बढ्नुपर्छ । यस्तो भए मात्रै जनतालाई र सुुखी बनाउन सकिन्छ ।’
जनताको पक्षमा काम गर्न नसकिए लोकतान्त्रिक प्रणालीले आलोचनाको भागीदार बन्नुपर्ने भन्दै उनले दलहरूलाई सचेत गराएकी छिन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गरेको छ ।