
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लोपटक हौसिएर कम्युनिस्टबीचको एकता दुर्घटनामा परेको भन्दै यसपटक सम्हालिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर मनाएको हीरक महोत्सवलाई सम्बोधन गर्दै ‘आजको दिनमा दलबीच सहमति र समझदारीको नयाँ यात्रा गर्ने दिन बनोस् भन्ने कामना गर्छु । सबै दललाई यसको निम्ति अपिल पनि गर्छु । कम्युनिस्टहरू सहमतिको बाटोमा हिँड्दा देशभर, उल्लास, उत्साह, उमङ्गको स्थिति बनेको थियो । दुई तिहाइ बहुमतको नजिक पुग्यौं । विभाजित हुँदा तीतो अनुभव भयो । यसको राम्रो हेक्का हामीलाई छ', प्रचण्डले भने, ‘अहिले हतारिएर कम्युनिस्ट एकताको पक्षमा छैनौं । हामी त्यो बेला अलि हौसिएछौं । समयभन्दा अगाडि नै अलि छिटो दौडिएछौं कि भन्ने भएको छ ।’
यसपटक राम्रो शुरूवात भएको भन्दै उनले विस्तारै सहकार्य र सहमतिको आधार तयार गर्नुपर्ने पनि बताए ।
‘राम्रो सहकार्य शुरू गरेका छौं र राम्रो सहकार्य गरौं । जनतालाई सेवा दिऊँ । यसले नै दलबीच सहमति र एकताको आधार तय हुन्छ', उनले भने, ‘ समझदारी गर्दै जाऊँ भन्ने नै अहिलेलाई उचित हो कि भन्ने लाग्छ ।’
कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा अझै राम्रो संकल्प गर्नुपर्ने उनले बताए ।
‘राम्रा कामको समीक्षा गरौं । अझै जनताको पक्षमा उभिने संकल्प गरौं । दलका नेताहरूले पनि आजका दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै प्रतिवद्धताको कार्यान्वयनको लागि संकल्प गर्ने दिन हो', उनले भने, ‘हाम्रो समझदारीको स्तर तल झर्दा ठूलो पार्टी कमजोर भएका छौं । समझदारी सहमति र एकताको बाटोमा अगाडि बढ्दा ठूला सफलता हासिल गरेका छौं । सहमति नहुँदा ठूला पार्टी पनि साना भएका छौं । सहमति हुँदा साना पार्टी पनि ठूला भएका छौं ।’