निर्वाचन आयोगले इलाम–२ र बझाङ– १(१)मा यही वैशाख १५ हुन गइरहेको उपनिर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन भन्दै ३ बुँदे निर्णय गरेको छ ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा सोमवार बसेको आयोगको बैठकले विभिन्न ३ बुँदे निर्णय गरेको उपसचिव एवम् आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतामा आँच आउने कुनै कार्य भएको वा हुन सक्ने शंका लागेमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले कारबाहीका लागि थप आदेश लिनु नपर्ने निर्णय आयोगले गरेको छ ।
यस्तै निर्वाचन क्षेत्रमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने निर्णय भएको आयोगले जनाएको छ ।
यसैगरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत निर्देशन दिने पनि निर्णय भएको छ ।
‘कुनैपनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था आउन नदिन मुख्य निर्वाचन अधिकृतमार्फत, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई र जिल्ला सुरक्षा समितिमार्फत मतदान केन्द्र तथा घुम्ती टोलीमा खटिने सुरक्षाकर्मीहरूलाई निर्देशन दिन गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्णय पनि भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्तिः
मिति : २०८१/१/10
नेपाल संवत् ११४४, चौलाथ्व १4 सोमबार
प्रेस विज्ञप्ति
उपनिर्वाचनको सुरक्षा व्यवस्था सम्बन्धमा
निर्वाचन आयोगको आज मिति 2081 वैशाख 10 गते सोमबार बसेको बैठकले आजै सम्पन्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा देहाय बमोजिम गर्ने निर्णय गरेको छ ।
- उपनिर्वाचनको मतदान हुने दिन मिति २०८१।०१।१५ गते निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को परिच्छेद २ को दफा ४ बमोजिम निर्वाचन सम्बन्धी सामग्रीको प्रयोगमा बाधा पुर्याउन नहुने, दफा ५ बमोजिम मतपत्रको दुरुपयोग गर्न नहुने, दफा ६ बमोजिम गैरकानुनी तवरले मतपत्र दिन वा लिन नहुने, परिच्छेद ३ को दफा ७ बमोजिम मतदानको अधिकार विना मतदान गर्न नहुने, दफा ८ बमोजिम पटक पटक मतदान गर्न नहुने, दफा 9 बमोजिम मत सङ्केत सार्वजनिक गर्न नहुने, दफा 10 बमोजिम मतदानको प्रक्रिया उल्लङ्घन गर्न नहुने, दफा 11 बमोजिम मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुने, दफा 12 बमोजिम मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने, दफा 13 बमोजिम मतदान गर्न बाधा गर्न नहुने लगायतका व्यवस्थाको प्रतिकुल हुने गरी कुनैपनि कार्य हुन नदिन र कही कतैवाट भएगरेमा थप आदेश लिनु नपर्ने गरी प्रचलित कानुन बमोजिम तत्काल कारवाही गर्ने र सोको जानकारी गराउने। कुनैपनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था आउन नदिन मुख्य निर्वाचन अधिकृत मार्फत, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई र जिल्ला सुरक्षा समिति मार्फत मतदान केन्द्र तथा घुम्ती टोलिमा खटिने सुरक्षाकर्मीहरूलाई निर्देशन दिन गृह मन्त्रालय मार्फत लेखि पठाउने।
- इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उपनिर्वाचनको दिन मिति २०८१/01/१५ गते सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने। निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने।
- निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम मतदान हुने दिन २०८१ वैशाख १५ गतेको अघिल्लो ४८ घण्टा अर्थात २०८१ वैशाख १२ गते राती १२:०० बजे पश्चात मतदान केन्द्र बन्द नहुन्जेलसम्म निर्वाचन (कसुर तथा सजाय) ऐन, 2073 को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने। उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने, सुक्ष्म ढंगले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतामा आँच आउने कुनै कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शंका लागेमा वा कुनै सूचना प्राप्त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम तत्काल कारवाही प्रारम्भ गर्न गृह मन्त्रालय मार्फत निर्देशन दिने।
राम दत्त पाण्डेय
उपसचिव एवम् सहायक प्रवक्ता