
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक प्रकाशबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल, नम्बर ३६ गण डोटीमा कार्यरत चन्दविरुद्ध सोमवार विशेष अदालतमा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी आरोप-पत्र दायर गरिएको आयोगले जनाएको छ।
चन्दले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल ऐण्ड इण्टरमीडिएट एजुकेशन यूपीबाट जारी भएको हाइस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिएको अभियोगपत्रमा उल्लेख छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले माथिल्ला विभिन्न पदको लागिसमेत सोही प्रमाणपत्र पेश गरेका थिए ।
हाल उनले सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।