२६ जेठ २०८३, मंगलबार

अर्घाखाँचीमा आगलागी : खुला आकाशमुनि १३ घर परिवार, छैन गास र बासको टुंगो

बैशाख १०, २०८१
अर्घाखाँची
अर्घाखाँचीमा आगलागी : खुला आकाशमुनि १३ घर परिवार, छैन गास र बासको टुंगो

​अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतवार दिउँसो खरानी सोहोर्दै थिइन् ।​

आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरि आँसु झार्दै उनले भनिन्, 'भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने के खाने ।'

शनिवार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उनको घर जलेर खरानी भएको थियो । त्यही खरानी स्याहार्दै उनले बिलौना गरिन् ।

'घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, गरगहना सबै खरानी भए, अहिले त खाने ठाउँ पनि छैन', गङ्गाबहादुर विकले सुनाए ।

आगलागीले उनको पनि घर नष्ट भएको छ । उनले घरमा भएको केही पनि  बचाउन नसकिएको बताए । 'ज्यान जोगियो त्यसैमा चित्त बुझाउनुपर्ने भयो, अरु सबै नष्ट भयो', उनले भने ।

मल्ल र विक मात्र होइन धारापानीमा शनिवार भएको भीषण आगलागीका कारण १३ घर परिवार अहिले खुला आकाशमा बस्न बाध्य छन् ।

आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलाम खिल्जी लगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए ।

बस्तीमा पसेको आगो नियन्त्रण भए पनि वनमा अझै पूर्णरुपमा आगो निभेको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनास्थलमै गएर आगलागीका कारण बास गुमाएका परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेका छन् ।

आगलागीले घर गुमाएका रातामाटाका १६ घरपरिवारलाई जिल्ला प्रशासनको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्य सामग्री राहत उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले बताए ।

चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री  वितरण गरिएको छ ।

भीषण आगलागीले गाउँनै सखाप भएको  छ । जिल्लाका विभिन्न स्थानमा शनिवार लागेको आगलागीमा ४३ घर गोठ जलेर नष्ट भएका छन् । हिजो भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनि गाउँपालिकामा भएको  डढेलोले २० घर, २३ गोठ, ११ बाख्रा र छ भैँसी जलेर नष्ट भएका हुन् ।

सबै पालिकामा दमकल नहुँदा र आगो नियन्त्रणका सामग्री पर्याप्त नहुँदा आगलागीका घटना बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए । उनले सुरक्षाकर्मीसँग पनि पर्याप्त अग्नि नियन्त्रक साधन छैनन् ।

जिल्लाका छ वटा स्थानीय तहमध्ये सन्धीखर्क नगरपालिकामा मात्र दमकल छ ।

अन्य पालिकाहरूमा दमकल नभएपछि ट्याक्टरमा पानीको ट्याङ्कर भए पनि तयारी अवस्थामा राख्ने निर्णय भएको थियो ।

कार्यान्वयनको प्रक्रियामा आगलागी बढेको प्रशासकीय अधिकृत पन्थीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्