२९ असार २०८३, सोमबार
ब्याच मिच्ने खेल

डीआईजी बढुवामा गृहको अस्वाभाविक चलखेल, 'जुनियर'लाई अगाडि ल्याउन आईजीपीलाई दबाब !

बैशाख १२, २०८१
काठमाडौं
डीआईजी बढुवामा गृहको अस्वाभाविक चलखेल, 'जुनियर'लाई अगाडि ल्याउन आईजीपीलाई दबाब !

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई चर्को दबाब दिएको पाइएको छ ।

कुँवर इन्टरपोलको महासभामा भाग लिन जाने दिन र अघिल्लो दिन समेत लामिछानेले मन्त्रालयमा बोलाएर जसरी पनि दानबहादुर कार्की र डा. मनोज केसीलाई डीआईजीमा बढुवा गर्नुपर्ने भनेर दबाब दिएको स्रोतको दाबी छ ।

आईजीपी कुँवर वैशाख ९ गते फ्रान्स उडेका थिए ।

उच्च स्रोतका अनुसार कुँवरले आफ्नै ब्याचका प्रहरी अधिकृत रहँदारहँदै तलको ब्याचलाई माथि ल्याउँदा ‘चेन अफ कमान्ड’ र प्रहरीको मनोबलमा समेत असर गर्ने भएकाले अहिले हतार गर्न नहुने जवाफ मन्त्री लामिछानेलाई दिएका थिए । 

लामिछानेले भने ‘नेतृत्व विकास’ का लागि कार्की र डा. केसीलाई बढुवा गर्नुपर्ने दबाब दिएको स्रोतले बतायो । 

लामिछानेले विधि र पद्धतिविपरीत तारन्तार दबाब दिएपछि आईजीपी कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत जानकारी गराएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले लोकान्तरसँग बताए ।

प्रधानमन्त्रीले यस विषयमा आफूले गृहमन्त्री लामिछानेसँग समेत सोधपुछ गर्ने र प्रहरीको मनोबल नखस्किने गरि बढुवा सूची प्रकाशित गर्ने आश्वासन कुँवरलाई दिएका थिए । 

स्रोतका अनुसार लामिछानेले कुँवरलाई ‘तपाईंका ब्याची क्षमतावान भएका भए त पहिल्यै बढुवा भइहाल्थे नि’ भन्दै काउन्टर जवाफ दिएका थिए । प्रहरी संगठनभित्र पछिल्लोपटक ‘पोखरेलपथ’को चर्चा छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल एसएसपीबाट डीआईजी बन्ने बेला एक्लै बढुवा हुन सफल भएका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त नविन घिमिरेसँगको सम्बन्धलाई उपयोग गर्दै पोखरेलले डीआईजीबाट एआईजीमा एक नम्बरमा नाम निकाल्न सफल भएको चर्चा चलेको थियो ।

अहिले एसएसपी कार्कीले लामिछानेलाई उपयोग गरेर आफू एक नम्बरमा डीआईजीमा नाम निकाल्न दौडधुप गरेको चर्चा छ । उनको दौडधुपबारे आईजीपी कुँवरलाई राम्रै सूचना पुगे पनि ‘रियाक्ट’ गरेका छैनन् । प्रतिस्पर्धीहरू भने कार्कीको बढुवा रोक्न दौडधुपमा छन् ।

गत वैशाख ३ मा बसेको बढुवा समिति बैठकले डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिश गरेको थियो । डीआईजी विकासराज खनाल उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि ३ डीआईजीको दरबन्दी रिक्त छ । यही मौकामा कार्कीले फट्को मार्ने योजनास्वरूप दौडधुपमा लागेको स्रोत बताउँछ । 

आईजीपी कुँवरका ब्याची एसएसपीहरू क्रमशः भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्द र कृष्णहरि शर्मा पोखरेल डीआईजी बढुवाका लागि प्रतिस्पर्धी हुन् । प्रहरी मुख्यालयका अनुसार राउत र चन्द २०५१ चैत ५ मा प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै प्रहरी निरीक्षकमा प्रवेश गरेका हुन् । 

पोखरेल भने २०५२ कात्तिक २७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यस्तै बढुवा आकांक्षीमा सिद्धिविक्रम शाह, सुशील सिंह राठोर र उमाप्रसाद चतुर्वेदी पनि छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका उनीहरू २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । रावल र राउत भने २०७८ मंसिर १२ मा एसएसपीमा बढुवा भएका थिए । 

अहिले लामिछानेले माथि उकाल्न खोजेका एसएसपीद्वय कार्की र केसी २०५४ चैत १८ मा निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । केसीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा बस्दा भुटानी शरणार्थी प्रकरणको फाइल खोलेकै कारण उनको समयावधि नपुग्दै सरुवा भएको थियो । उनले भुटानी शरणार्थीको फाइल अगाडि बढाएपछि नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण समेत पक्राउ परेका थिए । सोही कारण कांग्रेसले उनीहरूको सरुवा गर्न दबाब दिएको चर्चा चलेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्