०३ साउन २०८३, आइतबार

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बैशाख १७, २०८१
बाजुरा
बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ ।

जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।​

रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए ।

जथाभावी रुपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरे पनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनुपरेको जनस्वास्थ्य अधिकृत चन्दले बताए ।

जिल्लामा रहेका जिल्ला अस्पताल, टाटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप अभाव भएको  छ । 

लक्ष्यअनुसार खोप खरिद हुने भए पनि रेबिजको कुनै लक्ष्य नहुने भएकाले खोप खरिद गर्न समस्या भएको अधिकृत चन्दले बताए । 'रेबिजको खोप लगाउन कहिले आउने, कहिले नआउने भएकाले खोपको समस्या भएको छ', उनले भने ।  

यस्तै पूर्वी उत्तरी भेगको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी जिल्लाबाट पनि रेबिजविरुद्धको खोप लगाउन आउन थालेकाले उक्त स्वास्थ्य केन्द्रमा खोप अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

कोल्टीमा कर्णाली प्रदेशका हुम्ला, मुगु,  कालीकोटलगायतको सेवा केन्द्र बनेको स्वास्थ्य केन्द्र कोल्टीमा खोप अभाव भएको हो । 

स्वास्थ्य केन्द्रमा मात्र नभई अन्य क्लिनिकमा समेत रेबिजविरुद्धको खोप अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डा प्रतीक न्यौपानेले बताए । स्वास्थ्य कार्यालयका प्रमुख चन्दले खोप खरिद गर्न प्रदेश सरकारसँग माग गरिएको बताए ।

वैशाख मसान्तभित्र रेबिजविरुद्धको खोप जिल्लामा आइपुग्ने उनको भनाइ छ ।

स्थानीय तहका स्वास्थ्य शाखाले पनि खोप खरिद गर्न आवश्यक बजेटको व्यवस्था नगर्दा खोप खरिद र औषधि खरिदमा समस्या हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्