१६ असार २०८३, मंगलबार

ठमेलको बिजोग, खुट्टामा प्लाष्टिक बाँधेर हिँड्छन् पर्यटक

कात्तिक २०, २०७४
ठमेलको बिजोग, खुट्टामा प्लाष्टिक बाँधेर हिँड्छन् पर्यटक

काठमाडौं, २९ असोज– नेपालको पर्यटकीय हब मानिने ठमेलका विभिन्न भित्री सडकहरु अस्तव्यस्त बन्दा पर्यटक तथा व्यवसायीलाई सास्ती भएको छ । ठमेल छिर्ने ३ वटा प्रमुख बाटोमध्ये २ वटा बाटो र भित्री सडकहरुमा अस्तव्यस्त तरिकाले कालोपत्रे हाल्दा पर्यटक तथा व्यवसायीहरुले सास्ती व्यहर्नु परेको हो ।

अहिले अमृत साइन्स क्याम्पसको छेउबाट ठमेल छिर्ने गल्ली (सामाखुशी जाने बाटो पिपलबोटदेखि नर्सिङ चोक), सोह्रखुट्टे उकालोबाट ठमेल छिर्ने गल्ली (मनाङ होटलदेखि काठमाडौं गेष्ट हाउससम्म) र भगवती बाहालदेखि बैसाली होटलको सडकमा कालोपत्रै छापिएको छ ।



ठमेल छिर्न प्रमुख नाकामध्ये केशरमहलदेखि नर्सिङ चोकको बाटोमा भर्ने कालोपत्रे छापिएको छैन । व्यस्त सडकको विकल्पविना नै सबै सडकमा एकैचोटी कालोपत्रे छाप्दा आइतवार विहान पर्यटकहरु खुट्टामा प्लाष्टिक बाँधेर हिँडिरहेका देखिन्थे ।

कालोपत्रे गरिएको बाटो बारे कसैलाई सूचना समेत नदिएको व्यवसायीहरु बताउँछन् । लामो समयदेखि अस्तव्यस्त बनेको सडक पर्यटकीय मौसम शुरु हुँदा झनै बिजोग बन्दा अन्तर्राष्ट्रिय बजारमा कस्तो सन्देश जान्छ भन्ने कुराको समेत समन्वयकारी निकायले ध्यान दिन नसकेको व्यवसायी गोपाल ढकालको भनाइ छ । बाटो अस्तव्यस्त बन्दा पर्यटकहरुलाई होटलसम्म ल्याउनै समस्या भएको व्यवासीहरु बताउँछन् ।

ठमेलका पर्यटन व्यवसायी रामकृष्ण तिमिल्सिनाले बाटो बनिरहेकोबारे संकेत समेत नराख्दा सम्बन्धित सरोकारवालाको गैरजिम्मेवारीपन झल्किने बताउँछन् । उनले प्रश्न गरे, ‘बाटो हिड्नेलाई समेत सामान्य जानकारी नदिनु कत्तिको गैर जिम्मेवारपन हो ?’

अर्का रेष्टुरेन्ट व्यवसायी राज खनालले पनि बाटो बनाउने नाममा मनोमानी गरेको बताए । उनले भने, ‘बाटो बिग्रेको थियो, बनाउनु त ठिकै हो, तर बाटो हिट्ने मान्छेलाई सामान्य जानकारीको संकेत समेत नदिएर यस्तो गर्नु कत्तिको जायज हो ?, सम्बन्धित निकायले सोच्नुपर्थ्यो !’



ठमेल व्यवस्थापनको जिम्मेवार निकाय ठमेल पर्यटन विकास परिषद्ले ठेकेदारसँग आवश्यक समन्वय गर्न नसक्दा सो समस्या देखिएको त्यहाँका व्यवसायीहरु बताउँछन् ।

परिषद्का महासचिव भविश्वर शर्माले भने बाटो कालोपत्रे गर्नुपर्ने काम भएकाले परिषद्ले ठेकेदार कम्पनीसँग आवश्यक समन्वय गरेरै काम गरिरहेको दाबी गरे ।

उनले लोकान्तरसँग भने, ‘परिषद्ले समन्वय गर्ने काम हो, गरेका छौं, सडक बनाउनुपर्ने थियो त्यसैले कालोपत्रे गरेका हौं, कालोपत्रे गरेभन्दैमा सार्वजनिक बाटोमा हिड्नेलाई रोक्न मिल्छ ?’

उनले हिड्न सकिने अवस्था रहेकै हुनाले नहिँड्न सूचना नगरेको जिकिर गरे ।

काठमाडौं महानगरपालिकाले ठमेलका विभिन्न भत्किएका करिब एक हजार बर्ग फिट सडक कालोपत्रेका लागि ६० लाखमा एक नेपाली निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । ठेकेदार कम्पनीले समेत आवश्यक समन्वय गरी समयमा काम गर्नै नसक्दा ठमेल व्यवस्थित गर्ने महानगरपालिकको अभियान प्रभवित भएको छ ।



यसअघि गत असारमा मेलम्ची खानेपानी आयोजना, महानगरपालिका र सडक बिभागका बीचमा समन्वय नहुँदा सोह्रखुट्टेदेखि काठमाडौं गेष्ट हाउससम्मको सडक भत्काइएपछि सडक हिलाम्य भएको थियो । सो कुराको बिरोध स्वरुप त्यहाका व्यवसायीले धान दिवसको सन्दर्भ पारेर सडकमै धान रोपाइँ समेत गरेका थिए । त्यतिबेला १ करोड २० लाख रुपैयाँको लागतमा सोह्रखुट्टे उकालोदेखि काठमाडौं गेष्ट हाउससम्म करिब ३ सय ३० मिटर लामो ढल निर्माण गरिएको थियो ।

ठमेल बाह्य पर्यटकहरुको पहिलो गन्तव्यका रुपमा परिचित छ । विभिन्न देशबाट नेपाल घुम्न आउने अधिकांश पर्यटकहरु शुरुमै ठमेल पुग्ने गर्छन् । तर विदेशी पाहुनाको पहिलो आतिथ्यता प्रदान गर्नुपर्ने ठमेल बजारको व्यवस्थापनमा भने सम्बन्धित निकायको गम्भीर लापरवाही देखिन्छ ।
तस्बिर स्रोतः गोपाल ढकाल

salt training

कमेन्ट गर्नुहोस्