१० साउन २०८३, आइतबार

डा समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

बैशाख १८, २०८१
काठमाडौं
डा समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

लघुकथा विधाका अगुवा डा रवीन्द्र समीरको १५ औं साहित्यिक पुस्तकको रुपमा ‘पैसाको उडान’ प्रकाशित भएको छ । राजनीतिका कारण अचानक अर्बपति भएको नेताले पैसाले भोक, निद्रा, सुख, माया, इज्जत, आफन्तलगायत अभौतिक कुरा किन्न सक्छु भनेर साइकोपथमा हिँडेको विषयमा यो उपन्यास लेखिएको छ ।

पैसालाई आवश्यकता पूरा गर्ने साधनको रुपमा नलिएर मृगतृष्णाको रुपमा लिँदा समाजका हरेक तह र तप्का व्यापारी भएको विषय पनि उपन्यासमा छ । तर धनसम्पत्तिले एउटा सीमित समयसम्म मात्र खुसी प्रदान गर्ने तथ्यलाई नबुझ्दा जीवन पैसाको दास भएको तथ्य ५६ वटा च्याप्टरमा मार्मिक ढंगले उजागर गरिएको छ । आम छोराछोरी विदेश बस्ने तर यहाँ बाबुआमाले जीवनभर कमाएको पैसा भविष्यमा कसैलाई पनि काम नलाग्ने अवस्थाले मानसिक विचलन ल्याएको कुरा पनि उपन्यासमा प्रस्तुत गरिएको छ ।

पारम्परिक रुपमा लेखिँदै आएको उपन्यासको ‘ट्रेन’विपरीत समीरले मृत्युको आयु तथा कोरोनातन्त्र पनि लघुकथा शैलीमा लेखेका थिए । यी कृतिले उपन्यास लेखनको नयाँ आयाम देखाउन सफल भएका छन् ।

डा समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, एकलव्य दृष्टि, भूकम्पमा मल्हमपट्टी, मृत्युको आयु, कोरोनातन्त्र लगायत १४ वटा पुस्तक प्रकाशित छन् ।

समीरले पद्मश्री पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल सम्मानलगायत तीन दर्जन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार-सम्मान प्राप्त गरेका छन् ।

शिखा बुक्सले प्रकाशन गरेको पैसाको उडानको मूल्य ३२५ रहेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्