१५ असार २०८३, सोमबार

उपनिर्वाचन २०८१ : पुराना दलमै भरोसा र नयाँको परीक्षण

बैशाख १८, २०८१
काठमाडौं
उपनिर्वाचन २०८१ : पुराना दलमै भरोसा र नयाँको परीक्षण

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई उत्साहित तुल्याएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उपनिर्वाचनमा प्राप्त जीतले एमालेलाई खुसी तुल्याएको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले चुनावले आफ्नो दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको देखाएको प्रतिक्रिया दिए ।

एमालेको अगुवाइ  र उपस्थितिमा देश निर्माण गर्न सकिन्छ भन्ने सन्देश पाएको जिकिर पनि उनले गरे । 'अन्य राजनीतिक पार्टीमा सङ्गठित व्यक्तिले पनि ‘सूर्य’लाई मत हालेको देखिन्छ । विचारका हिसाबले आफ्ना दलको नेतालाई  मान्ने तर मुलुक सञ्चालनको जिम्मेवारीमा एमाले खोज्ने प्रवृत्ति मतदातामा देखियो । यो एमालेका लागि नयाँ जिम्मेवारी पनि हो', उनले भने ।

आफ्नो दललाई पहिचान विरोधी हो भनेर समाजलाई साम्प्रदायिक विभाजन गर्ने  दूषित मनसाय बोकेकाहरूले लगाएको आरोप र अस्वीकृत भएको उनको भनाइ छ ।

पहिचानका नाममा अतिवादी प्रवृत्तिलाई समाप्त पारिएको जनाउँदै उनले जनताले युवालाई अनुमोदन गरेको स्पष्ट देखिएको बताए ।

विधायकको मुख्य भूमिका कानून निर्माण हो, त्यस्तो महत्त्वपूर्ण थलो संंसद्‌मा कानूनी पृष्ठभूमिका प्रतिनिधिलाई नै जनताले रोजेकोमा उनले सन्तुष्टि व्यक्त गरे।

'प्राप्त मतभारबाट उत्साहित मात्र नभएर आफूप्रति गरिएको भरोसालाई डगमगाउन नदिई मुलुकलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय सङ्कल्पमा दृढ भएर अघि बढ्छौं', उनले भने ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले उपनिर्वाचनबाट देशले राजनीतिक परिपक्वता खोजेको सङ्केत गरेको प्रतिक्रिया दिए ।

उनका अनुसार मुलुकलाई अघि बढाउन २/३ आयाम छन् । 'अब सबै मिलेर काम गर्नुपर्छ । देशको समृद्धिका लागि मिलेर जाऔं भन्ने सन्देश पाइएको छ । राजनीतिमा अघि बढ्न त्याग, समर्पण, परिपक्वता आवश्यक हुन्छ भन्ने सन्देश आयो', उनले भने ।

नेपाली कांग्रेस संसदीय दलकी सचेतक सुशीला थिङले आफ्नो दलले निर्वाचनको परिणामलाई सकारात्मक रूपमा ग्रहण गरेको बताइन् ।

आफ्नो दल निर्वाचनमा पराजित भए पनि कांग्रेसप्रतिको जनताको भरोसा कायमै छ भन्ने जिकिर पनि उनले गरिन् । 'निर्वाचनले एमाले र नेपाली कांग्रेसमै जनताको भरोसा छ भन्ने देखाएको छ । यसबाट नयाँ राजनीतिक दलको पनि परीक्षण भएको छ', उनले भनिन् ।

आफ्ना मतदाता यथावत् रहेको र तिनले कांग्रेसलाई माया गरिरहेको जनाउँदै उनले अब पार्टी जनताका माझमा पुग्न र अलि बढी खट्नुपर्ने आवश्यकता महसुस भएको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनले सङ्गठन विस्तार र पार्टी बनाउनका लागि जनतासँग लामो संवाद गर्न सन्देश दिएको बताए ।

'पछिल्लो राजनीतिक परिवर्तनसँगै रास्वपाले जनसमर्थन पाउँछ भन्ने बुझाइ स्थापित गर्न अझ बढी काम गर्नुपर्ने देखियो । त्यो बाँकी काम यथाशीघ्र गरेर अघि बढ्न निर्वाचनबाट सन्देश मिलेको छ', उनले भने ।

उपनिर्वाचनमा आएको मतमाथि विचारविमर्श र समीक्षा गर्ने ठाउँमा आफूहरूलाई पुर्‍याएको बताउँदै उनले नतिजालाई सबै आयामले सोच्नुपर्छ भन्नेमा दलको आगामी बैठकमा छलफल हुने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्