
आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् ।
आईएमई ग्रुपमा मङ्गलवार एक विशेष कार्यक्रमबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पीटी पीएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
पीटी पीएलएन नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी हो ।
यस समझदारी अन्तर्गत, पीटी पीएलएनले आफ्नो विशेषज्ञताका आधारमा नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको विकासका लागि थप अध्ययन तथा विश्लेषण गर्नेछ ।
पीटी पीएलएनले स्थानीय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पावर प्लान्टको सञ्चालन तथा मर्मत सम्भारमा विशेषज्ञता हासिल गरेको छ।
यसले सिंगापुर, मलेसिया, कुवेत, चीन र साउदी अरब लगायतका देशहरूमा सेवा विस्तार गरिसकेको छ।
आईएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको ऊर्जा उत्पादनमा थप अवसरहरू खोल्न नयाँ साझेदारीले सहयोग पुग्ने बताए ।
बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न तथा यस क्षेत्रको दिगो विकासलाई सघाउन इन्डोनेसियाको विशेषज्ञता तथा अनुभवलाई समझदारीमार्फत उपयोग गर्न सकिने अध्यक्ष ढकालको विश्वास छ ।
आईएमई ग्रुपले जलविद्युत, बैंकिङ, बीमा, पर्यटन पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा लगानी विस्तार गरिरहेको छ ।